गृहपृष्ठ /समाचार / सरकार अहिले नै ढाल्ने पक्षमा छैनौँ : दाहाल

सरकार अहिले नै ढाल्ने पक्षमा छैनौँ : दाहाल

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सय दिनमा सरकार असफल भएपनि तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेको बताएका छन्।

मंगलबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष दाहालले सरकारको सय दिन असफल रहेको उल्लेख गरे। उनले सरकार निर्माणको प्रक्रिया नै सही विधि र प्रक्रियाबाट नभएको गुनासो गर्दै सरकार निर्माणको उद्देश्य नै गलत रहेको जिकिर गरे।

उनले भने, ‘सरकारको सय दिनको कुरा जहाँसम्म छ, अब सरकार गठन नै जुन विधि, प्रक्रिया र उद्देश्यले गरियो, यो राष्ट्र र जनताको पक्षमा धेरै गर्न सम्भव छैन भन्नेकुरा त मैले सुरुमा नै भनेको थिएँ। यसले सरकार गठनको दिगो हिसाबले, प्रक्रियाको हिसाबले, समयको हिसाबले, ठाउँको हिसाबले भनेर भनेको थिएँ। नभन्दै सय दिनसम्मको हेर्दा यो सरकार सफल भएको मान्न सकिँदैन। सरकार असफल नै छ।’

वर्तमान सरकारले राष्ट्र र जनताको पक्षमा धेरै काम गर्न सम्भव नरहेको बताए। अध्यक्ष दाहालले अहिले नै वर्तमान सरकार ढाल्ने पक्षमा माओवादी केन्द्र र आफू नरहेको भन्दै सरकार ढालेर जनतालाई पुनः हैरान बनाउने मनशाय नरहेको बताए।

सरकारले जनताका लागि काम नगरेको भन्दै सरकार राम्रो उद्देश्यमा नै आधारित नदेखिएको बताए।

दाहालले थपे, ‘यो सरकार अहिले नै ढाल्नुपर्छ भन्ने माओवादी केन्द्रको र मेरो कुनै मनशाय छैन। किनभने त्यसो गरेर फेरि जनतालाई हैरान पार्ने भन्दा यही सरकारले राम्रो गर्दिए हुन्थ्यो भन्ने छ। तर यो सरकारले राम्रो गरिरहेको छैन। र यो राम्रो उद्देश्यमा नै आधारित देखिएको छैन। जुन किसिमको तरिकाबाट आएको छ, त्यहाँ मलाई शंका छ र त्यो शंका मेरो रही राख्छ।’